नेपाल ज्योति, माघ २ –
विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिच अस्ट्रेलियाबाट देशनिकाला गरिएका छन्। उनको भिसा रद्द गर्ने एक मन्त्रीको फैसलालाई सङ्घीय अदालतले सदर गरेपछि आइतवारै उनी मेलबर्नबाट दुबईको उडानबाट बाहिरिएका हुन्।
अस्ट्रेलियाको सङ्घीय अदालतले ३४ वर्षीय सर्बियाली नागरिक जोकोभिचले भिसा रद्द गर्ने सरकारको निर्णयलाई कानुनसम्मत भनेको छ।अदालतका तीन न्यायाधीशहरूले सर्वसम्मतिले उनको भिसा रद्द विरुद्धको अपिललाई खारेज गर्ने निर्णय दिएका हुन्।
यो निर्णयसँगै जोकोभिचले गत वर्ष जितेको अस्ट्रेलियन ओपन टेनिस प्रतियोगिता खेल्न नपाउने भएका छन्। अदालतको निर्णयपछि जोकोभिचले आफू एकदमै निराशू भएको भए पनि निर्णयलाई सम्मान गर्ने बताएका छन्।
यो देशबाट म बाहिरिनका लागि सम्बन्धित निकायलाई सहयोग गर्नेछु, उनले एक वक्तव्यमा भनेका छन्।
(बीबीसिबाट साभार)