इटालियन फुजी स्याउप्रति जुम्ली किसानको आकर्षण बड्दो

  • प्रकाशित मिति : January 16, 2022
  • नेपाल ज्योति

नेपाल ज्योति, माघ २ गते –  इटालियन फुजी स्याउप्रति जुम्ली किसानको आकर्षण बढेको छ । रोपेको एक वर्षमै उत्पादन हुन थालेपछि अहिले जुम्लामा फुजी स्याउ रोप्नेको सङ्ख्या बढेको छ । स्याउ उत्पादन तथा प्राविधिक सहयोग गर्दै आएकोे प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना, स्याउ सुपरजोन कार्यालय, जुम्लाले फुजी स्याउ लगाउने किसानको सङ्ख्या बढ्न थालेको जानकारी दिएको छ ।

सुपरजोन कार्यालय प्रमुख गङ्गा पोख्रेलका अनुसार स्याउ सुपरजोन कार्यालयले तीन वर्षमा २७ हजार स्याउका बिरुवा वितरण गरेको छ । जुम्लाका किसान मीनबहादुर भण्डारीले सुपरजोन कार्यालयबाट पाँच हजार बिरुवा लिनुभएको छ ।

गुठीचौरमा रहेको उहाँको बगैँचामा ३० हजार स्याउका बिरुवा रोपिएका छन् । जुम्ला चन्दननाथ नगरपालिकाका सेराडावमा जुम्ला एग्रोफार्म र हाम्रो कृषि सहकारीले रोपेका बिरुवा फल्न थालेका छन् ।

ताम्ती, तातोपानीसहित विभिन्न स्थानमा इटालियन फुजी स्याउको बिरुवा ल्याएर जुम्लाको माटोमा फल्न थालेपछि आकर्षण बढेको हो । स्थानीय सरोज शाहीले पछिल्लो दुई वर्षमा १० लाख रुपियाँको स्याउ उत्पादन गर्नुभएको छ । (गोरखापत्रवाट साभार)