शनिवार बालकोटस्थित ओली निवासमा प्रधानमन्त्री देउवा र ओलीबीच वान टु वान भेटवार्ता

राजनितिक माहोल परिवर्तन हुन सक्ने

  • प्रकाशित मिति : January 8, 2022
  • -सरु आचार्य

नेपाल ज्योति, पुस २४ –

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच करिब एक घण्टा छलफल भएको छ । शनिबार बिहान भक्तपुर बालकोटस्थित ओली निवासमा प्रधानमन्त्री देउवा र ओलीबीच भेटवार्ता भएको हो ।

प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले पनि दुवैबीच के विषयमा छलफल भयो भन्ने कुरा बाहिर आइनसकेको जानकारी संचारमाध्यमलाई दिएका छन् ।
त्यसै गरि ओलीका प्रेस संयोजक रामशरण बजगाईंले प्रधानमन्त्री र अध्यक्षबीच करिब एक घण्टा वान टु वान भेटवार्ता भएको तर विषयबारे थाहा नभएको बताए ।
एमालेले प्रतिनिधिसभा बैठकमा गरेको निरन्तर अवरोध हटाउनेलगायत विषयमा छलफल गर्न प्रधानमन्त्री देउवा एमाले अध्यक्ष ओलीलाई भेट्न शनिबार बिहान करिब १० बजेर ३० मिनेटमा बालकोट पगेका थिए ।

प्रधानमन्त्रीले सर्वदलीय बैठकमा बोलाउँदा समेत एमाले उपस्थित नभएपछि प्रधानमन्त्री देउवा छलफलका लागि ओली निवास बालकोट पुगेका हुन्।

शुक्रबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले संसद् अवरोध र न्यायालयको समस्याबारे प्रधानमन्त्री देउवालाई एमाले अध्यक्ष ओलीसँग वार्ता गर्न आग्रह गरेको थियो ।
ओलीले एकीकृत समाजवादी पार्टीमा रहेका सांसदलाई सभामुखले कारबाही नगरेसम्म बैठकमा अवरोध गर्ने बताउदै आएका छन् । एकीकृत समाजवादी पार्टीका सांसद उपस्थित भएको संसद् र बैठकमा उपस्थित नहुने एमालेको अडान छ ।

आजको भेटबाट नेपालको राजनितिमा केहि परिवर्तन हुन सक्ने आकलन समेत विश्लेषकहरुले गरेका छन् ।